Skip to main content

हराएको राष्ट्रियता

खै ! आज सम्म पनि भेटिएन ,
हराएको मेरो राष्ट्रियता
यो सहरको हरेक चोकचोकमा,
गल्ली गल्लीमा
भौतारिँदै हिँड्दै छु नपाएर
फोहोर सँगै कतै
फ्याँकिएको मानवता;
आफ्नै भूमिबाट लखेटिएको
मेरो स्वाधीनता

राष्ट्र रोइरहेको देख्दा देख्दै पनि
मन ढुङ्गा झैँ बसिरहन्छ
अचल संवेदनाहिन
किनकी, मेरो राष्ट्रियता हराएको छ;
खान नपाएको भोको देख्दा
उसैलाई गिज्याउँदै
खाइरहन्छौ चौरासी व्यन्जन
किनकी, मानवता फालिएको छ,
बासी खानाझैँ पत्रिकामा बेरिएर
हुलका हुल दाजुभाइ
खाँडी पस्दा
भन्दैनन् कसैले नजा भनेर
किनकी,
स्वाधीनता आफैँ
लखेटिएको देशमा
सुखी अनि सुरक्षित जीवन
कसैले पाउँदैन।

मलाई लाग्यो,
सँगै लापत्ता भएका ती तीनहरु
सहरमा भेटिन्छ्न् सायद
तर
सहरको अवस्था जब देखेँ
महसुस भयो,
सहर पनि तिनीहरुको निम्ति अनुकुल छैन।
तैपनि मनमा झिनो आशा लिएर
घुम्दैछु हर कुना कुनामा
चेपिँदै सहरको भिड भाडमा।

आज पो झल्याँस्स भएँ  
मेरो राष्ट्रियता गाउँमै छुटेछ;
सुनौलो घाम जन्माउने क्षितिज,
 मुसुक्क मुस्कुराउने हिमाल,
हरियाली प्रकृति,
छङछङ खोला
गरिबीको घना बस्ती भित्र
छुटेको छ मेरो राष्ट्रियता
घाँस दाउराको भारी बोकेर
उकालो उक्लिने जीवनमा,
अशिक्षाको खडेरीले उजाडिएको
नानीहरुको जिवनमा,
रित्तिएको मन लिएर बाँच्दै गरेका
आशालु नजरहरुमा,
अनि भौतिक रुपमै रित्तिएको
शुन्य गाउँमा पाइँदो रहेछ
गन्तव्यहीन राष्ट्रियता,
अल्मलमा परेको यात्रु झैँ।

सहरमा फ्याँकिएको मानवता
गाउँमै पाइँदोरहेछ
भोक बाँचेर भोकै मर्नेहरुको मनमा
हाँसेर आँसु गाउनेहरुको वेदनामा
एक दिनको कमाइले
आधा दिन बाँच्नेहरुको बाध्यतामा
एक गाँस पनि बाँडेर
खानेहरुको सन्तुष्टिमा
एक छेउ गुन्द्रीमा
बराबर सुत्नेहरुको सपनामा
हरेक परिश्रमी हात
हरेक दयालु मुटुमा
बाँकी रैछ
अझै जिउँदो मानवता।

अनि जङ्गल बनेको उर्वर भूमी,
उजाड गाउँबस्ती
लेउ लागेका भित्ता छाना चुहिएका घरहरु,
बल रित्तिएका पाखुरा बस्ने
मृत जीवनहरुको गाउँमा
अझै जिवित रैछ
मैले खोजको

स्वाधीनता, मानवता र राष्ट्रियता ।

- जुनु राई
               facebook.com/raejunu

Comments