#फुलु
उनको र मेरो कथा लेख्छु त भनेँ तर त्यो कथा कहाँबाट सुरु गर्ने, भेउ पाउन सकिनँ । कथा सुरु गर्न मलाई यो कारणले पनि गाह्रो भइ रहेको छ कि, म आफैलाई पनि हाम्रो कथा कहाँबाट सुरु भयो भनेर थाहा छैन, सायद उनलाई थाहा थियो कि ?
कुनै चलचित्र वा उपन्यासका नायक–नायिकाको जस्तो हाम्रो कुनै ‘पहिलो भेट’ भएको थिएन, एटलिस्ट मेरो हकमा । जुन भेटलाई म पहिलो भेट भनेर मान्थेँ त्यो भेट त हाम्रो कैयौँ भेट पछिको भेट रहेछ, यो उनी आफैले मलाई भनेकी । उनले जुन भेटलाई हाम्रो पहिलो भेट भनिन्, मलाई त्यस भेटको र दिनको केही कुरा याद छैन जसलाई म कथामा सामेल गर्न सकुँ । उनी आफैले यस्तो कथा बुनेकी जस्तो लाग्थ्यो । तर जे होस् हाम्रो भेट भएकै रहेछ, त्यो ‘पहिलो भेट’ भन्दा पनि पहिले ।
यसकारण मलाई हाम्रो कथा पहिलो भेटबाट सुरु गर्न अप्थ्यारो भएको हो । प्रायः चलचित्रहरुमा नायकले नायिकालाई देख्छ; ए होइन साँची, उसले नायिकाभन्दा पहिले नायिकाको सुन्दर आँखा, गुलाबी ओठ, बारुले कम्मर र दर्शकलाई नै मुग्ध पार्ने मुस्कान देख्छ; अनि मात्र नायिकालाई देख्छ । मैले चाहिँ पहिले नै उनलाई देखेँ र बानी पर्दै गए पछि उनका अरु कुरा देखेँ; नायकले नायिकामा देखेको भन्दा बढी देखेँ । पहिलो भेटमा नायकको मनमा उब्जेको मायाभन्दा सायद बढी नै माया महसुस गर्दै गएँ, समय बित्दै गइ सके पछि र बिति सके पछि पनि ।
Comments
Post a Comment