"मलाई कहाँ देख्याथ्यौ र पैलो पटक ?" मन भित्रको उमङ्ग, हर्ष र उत्तेजना सबैलाई कन्ट्रोल गर्दै मैले सोधेको थिएँ त्यो प्रश्न ।
“तपार्इँ कलेज जाँदा हौ !” अलि झर्किँदै भनिन्, एकछिन अड्किन् र फेरी बोल्न थालिन् — “तपाईँ सधैँ अलि ढिलो कलेज जानु हुन्थ्यो । जैले पनि एता उति नहेरी सिधै अघि सुइ–सुइ हिँड्नु हुन्थ्यो । कोट लाको डल्लो मान्छे त्यसरी हिँडेको देख्दा...”
भरखर भरखर मात्र उनी मसँग खुल्न थालेकी थिइन् । यस्तरी खुल्न थालेकी थिइन् कि ‘यूउ ट्युबमा र्याप ब्याटलका र्यापर्स’ जस्तो ‘ननस्टप’ बोलि रहन्थिन्— गुटुङ्टुङ्; अनि म चाहिँ सुनि रहन्थेँ, चुपचाप । उनी त्यसरी बोलेको सुनि रहन मलाई खुब रमाइलो लाग्थ्यो । त्यसरी बोलि रहँदा उनका आँखा कहिले साना त कहिले ठूला हुन्थे अनि कहिले चाहिँ आँखा झिमिक पनि हुँदैनथे । मलाई हेरेर बोल्न लजाउँथिन् सायद, अगाडि हेरेर 'ननस्टप' ती ओठहरु चलाइ रहन्थिन् । मैले उनको कुरा त्यसरी सुनि रहेको उनलाई मन परे पनि मेरो चुपचाप रहने बानी देखि रिसाउँथिन् । उनले कथा हाल्दै गर्दा मैले इन्टरफेयर वा डिस्टर्ब गर्न नपाउने तर बिच बिचमा “अँ" चाहिँ भन्नै पर्ने । आज पनि “अँ” भन्न बिर्र्सिएछु, उनले झर्किँदै “अँ भन्नु न !” भने पछि पो झस्किएँ ।
कुरा मिलाउने शैलीमा भन्दिएँ, “अँ अँ ।”
आँखा खुम्च्याउँदै र ओठ चोसो पार्दै उनले मलाई आँखा तरिन्, “अँ ! खुब...” । उनले भनेको मैले नमान्दा उनी यसो गर्थिन्, मलाई चाहिँ क्या ‘क्युट’ लाग्थ्यो त्यो ‘एक्सप्रेसन्’ ।
“भन न भन । अब चाहिँ सुन्छु के, तिम्रो कस्सम !” मैले हाँस्दै भनेँ ।
“फे...री !” फेरी उही ‘क्युट एक्सप्रेसन’का साथ उनी झर्किन्— उनको अगाडी कसम खान पनि पाइनथेन । म चाहिँ बेला मौकामा त्यो नियम उल्लङ्घन गरि रहन्थेँ, त्यही ‘क्युट एक्सप्रेसन’को लागि ।
हाँसो लुकाउन थोरै मुस्कुराउँदै हातको चालले ‘गो अन्’ को सङ्केत गरेँ ।
उनले फेरी ‘प्ले बटन’ थिचिन्— “खासमा म तपाईँलाई तेतिबेलादेखि नै ‘लाइक’ गर्थेँ नि !” अनायसै भित्र भित्रै 'टम क्रुज' वाला फिलिङ आउन थाल्यो ।
उनी बोलि रहेकै थिइन्—“तपाईँसँग कस्तो बोल्न मन लाग्थ्यो तर डर पनि लाग्थ्यो ... तपाईँ किन हाँसिरा'नि? नपत्याको?”
ए... म त हाँसिरा’ पो रहेछु, मख्ख परेर । हल्का हेयरस्टाइल मिलाइ दुवै काँधका सर्ट मास्तिर तन्काएर हिरोको अ्याक्टिङ् गर्दै लजाएको स्माइल दिएर भनेँ, “क्या ह्यान्डसमवाला फिलिङ् आइरा’छ ।”
दाइने हातको चार औँला नाकमा र देब्रे हात तल्लो पेटमा राखेर हाँस्न थालिन् उनी, मरी मरी— केटीहरुको नाटकदेखि नसकिने ! तर पनि त्यो हाँसो मलाई ‘क्युट’ लाग्यो; सायद त्यो समय नै त्यस्तै थियो, जे पनि मन पर्ने ।
म चाहिँ तेतिबेला ‘ब्लश्ड’ भइ रहेको थिएँ, ‘लिटरल्ली’ । ‘ह्यान्डसम’ हुन, ‘हट एन्ड सेक्सी’ हुन मनमनै मनपरे पनि म बाहिर सजधज केही गर्दिनथेँ, त्यो कोट र हेयरस्टाइल बाहेक । अरुजस्तो ‘रफ एन्ड टफ’ भएर हिँड्न साथमा गाँठ पनि थिएन र मनमा आँट पनि । अनि सबै भन्दा ठूलो समस्या चाहिँ लाज लागेर भुतुक्कै हुन्थेँ । आज एउटा केटीबाट यस्तो प्रतिक्रिया आउँदा कति बेलादेखि हाँस्न थालेछु, पत्तै पाइनँ ।
उनको हाँसो थामिइ सकेको थियो । अलि सिरियस हुँदै उनले भनिन् :-" मसँग तपाईँलाई भन्ने अर्को कथा पनि छ ।"
"कस्तो कथा?" उत्सुक त म थिएँ नै ।
"हाम्रो पहिलो भेट र कुराकानीको कथा, मेरो चित्त क्या दुखाउनु भको थ्यो त्यो बेला ।"
"लौ, मैले के गरेको थिएँ र?" अहिले नै 'रिग्रेट फिल' हुन थाल्यो ।
"त्यो म पछि भन्छु । ऐले ढिलो भैसक्यो मलाई क्लास जान ।" उनी जुरुक्क उठिन् ।
"ह्या ! एसरी मान्छेलाई 'सस्पेन्स'मा राख्न पाइँदैन । "
ढोका बाहिर पुगि सकेकी उनी फेरी ढोकाबाट चिहाउँदै भनिन् :-
"प्रतिक्षाको फल मिठो हुन्छ ।"
Comments
Post a Comment