वि.सं. १८७१ मा नालापानीमा भएको ऐतिहासिक नेपाल–अङ्ग्रेज युद्धको सन्दर्भलाई लिएर रचिएको यस ऐतिहासिक नाटकमा सुरुदेखि अन्त्यसम्म देशभक्तिको भावना छताछुल्ल पोखिएको छ । युद्धमा नेपाली सैनिकहरुले प्रदर्शन गरेको सुरता, वीरता, देश प्रेम र आत्म स्वाभिमानलाई देखाउनु यस नाटकको उद्देश्य हो ।
प्रमुख पात्र नरे कार्कीका माध्यमबाट नेपाली वीरहरु व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थलाई महत्व दिन्छन् भन्ने पुष्टि गरिएको छ । कर्णेल मबीले अनेक प्रलोभन देखाउँदा पनि त्यसलाई लत्याउँदै आफ्नो प्राण आफ्नै लोकमा बिसर्जन गर्ने प्रतिबद्धता जाहेर गरेर नरे कार्कीले राष्ट्रभक्त र स्वाभिमान सिपाहीको परिचय दिएको छ ।
देश र देशबासीका लागि नेपालीहरु भोकभाकै भएर पनि राष्ट्रको अस्तित्व बचाउँछन् भन्ने भावका गित नेपाल खाल्डो निवासीले, यस्तै हिमालबासी, पर्वतबासी र तराईबासीहरुले पनि राष्ट्रभक्ति र जातिय स्वाभिमानका गित गाएका छन् । यहाँ नेपाली वीरहरु मातृभूमिको अस्तित्व रक्षाका लागि लड्डालड्डै बगेको रगतले धर्तीमाताको ऋण तिरेको सम्झेर गौरव गर्छन् भन्ने भाव व्यक्त भएको छ ।
नाटककारले नेपालीहरुको वीरता र स्वाभिमानी चरित्रको परिचय दिँदै नेपालीको नेपालप्रति प्रगाध माया र देशभक्तिको भावना पङ्क्ति पङ्क्तिमा व्यक्त गरेका छन् । नाटकमा हिमालदेखि तराइसम्मका लोकलयलाई समेटी प्रत्येकबाट देशभक्ति, जातिय स्वाभिमान र एकताको भाव व्यक्त गर्न लगाएर नाटककारले नेपालीहरुमा अनेकतामा एकताको शक्ति रहेको सन्देश पनि दिएका छन् ।
Comments
Post a Comment