Skip to main content

#फुलु ४. बेचैनी

#फुलु 
[[ माघको महिना, शुक्रबारको बिहान थियो त्यो; कलेज नजाने कुरा हिजै तय भैसकेको थियो । मस्त निद्रामा थिएँ, फोन कामेकोले म बिउझिएँ । यति मीठो निद्रा लाग्थ्यो कि 'फुल भोल्युम'मा राखेको 'अलाराम' बज्दा पनि पत्तो पाउदिनथेँ । त्यसैले फोनलाई भाइब्रेसन मोडमा राख्थेँ, सुतेको खाट नै भुँ भुँ गरेर काम्न थालेपछि नउठि धर ?
एउटा आँखा एस्सो उघारेर टाइम हेरेँ, साँढे नौ भएको रहेछ 'अलाराम' त दश बजेको थियो । के भएछ भनेर सोच्न नपाउँदै फोन फेरी काम्न थाल्यो । सङ्गित दाइले सम्झिएछन् बिहान बिहानै । एकमनले त फोन नउठा भन्दैथ्यो अर्को मनले मानेन सायद बुढी औँलाले 'रिसिभ बटन' थिचेपछि घोक्रोले आवाज निकालि हाल्यो-
"नमस्ते दाइ !"
"के गर्दै छस् केटा, के छ तेरो हालखबर ?"
घाँटी सफा गर्दै उस्तै स्वरमा जवाफ दिएँ-
"ठिकै छ दाइ, कलेज गयो-आयो । यस्तै त हो ।" पहिलो प्रश्नलाई 'स्किप' गरेको थिएँ ।
"हैन तँ जाँठा त ऐलेसम्म सुतिराछस् कि कसो हँ ?"
कुनै उत्तर थिएन मसँग त्यस प्रश्नको, तर उनले नै सजिलो बनाइदिए-
"भोलि हलेसी प्रतिस्थानको पिकनिक छ, आइज है केटा त्रिभुवन पार्कमा । गाउँको मान्छेहरुसँग भेटघाट हुन्छ । गुञ्जन पनि आउँछु भन्दैथ्यो, तँ पनि आइज ।"
नजाने कुरै थिएन । सहर्ष स्वीकारेँ- 
"कति बजे हो दाइ, काँबाट गाडी चढ्नु पर्ने ?"
"चाबेल आइपुग् पाँच बजे । अलि छिटो आइज है केटा, सरसामानको जोरजाम पनि गर्नु पर्छ । अनि यसरी दिन दिनभर सुत्ने हैन केटा, अलि छिटो उठ्ने गर् ।"
हस् भन्नै पर्ने थ्यो, भन्दिएँ ।
"लु केटा, भोलि उतै भेटुङ् ऐले राख्दिएँ मैले ।"
फेरी "हस्" भन्दिएँ ।
उठेर ट्वाइलेट गएँ आएर फेरि सुत्न खोजेको मरिगए निद्रा लागेन । ब्रस समाएर बाथरुम छिरेँ हुन त ट्वाइलेट नै हो तर ऐले त्यो रुममा अर्कै काम गर्न छिरेको थिएँ काम फरक, नाम फरक । मुख धोएँ, कपालमा हल्का पानी लाएर थोरै ढल्काएँ, बस सकियो मेक अप अनि कोठाको ढोका तानेर माथि पसल तिर लागेँ ।
पसलको नाम मोबाइल मर्मत पसल, मेरो रुपा (रुम पार्टनर) तथा साथिको मोबाइल पसल हो ठ्याक्कै चोकमा छ । उसको लागि पैसा कमाउने ठाउँ, मेरो लागि टाइम पास गर्ने ठाउँ । कम्प्युटर सम्बन्धि सम्पूर्ण काम मलाई नै थमाइ दिएको थियो जुन मैले सहर्ष स्वीकारेको थिएँ कारण म कम्प्युटर क्रेजी, अझ नेट पनि जोडेको थियो मलाई अरु के चाहियो ।
"आज कलेज नगको ?" उसले सामान्य प्रश्न गर्यो।
"गको भए याँ हुन्थे ?" उल्टै प्रतिप्रश्न गरेँ मैले ।
उसले मेरो प्रश्नको वास्ता गरेन । म मुढामा बसेर कम्प्युटर चलाउन थालेँ । चल्ने चित्र, नचल्ने चित्र र चलेको चलेकै गर्ने चित्र सबै खाले चित्र हेर्ने मलाई छुट थियो । एउटा खोलेर हेर्न मात्र के थालेको थिएँ, झ्याप्प बत्ती गयो । झनक्क रिस उठेर हेडफोन फाल्दिन लागेको थिएँ रुपाले आँखा तरिरहेको रहेछ । म ङिच्च हाँसिदिएँ ।
"के छ हौ झुसेहरुको खबर ?" अर्को पसले दाजु आइपुगे । सबैजनालाई 'झुसे' भनेर बोलाउने भएकाले 'झुसे'कै उपनाम पाएका यी दाजुसँग हाम्रो गफ खुब मिल्थ्यो, शाकाहारी खालको पनि र मांसाहारी खालको पनि ।
"यस्तै हौ झुसे दाजु । खायो ढिँडो हल्ली हिँडो पाल्यो बोके दारी !" अलिकति साहित्य मिसिहाल्छ हाम्रो गफमा ।
"तर त्यो दारी पनि छैन र पो त," रुपाले मुख खोले हाँसोको फोहोरा फुटिहाल्यो ।
"साँचि भोलि हलेसी प्रतिष्ठानको पिकनिक छ रे नि ।" कुरा अन्तै मोड्न खोजेँ ।
"अँ, अघि गुञ्जनले पनि भन्दै थिई । यत्रो पसल छोडेर काँबाट जान पाउनु हौ बोरो, जान त मन थ्यो नि ।" दुवै पसलेको तर्फ बाट रुपाले दुःख बिसाए ।
कुरा त सही थियो अनि त्यसको बारेमा मैले सोचेकै थिइन । फेरी मौनता छाउन लाग्यो ।
"हैन यो गुञ्जन भन्ने नयाँ फुलकुमारी चै को हौ ? अघि दाइले पनि सँगै आउनु भन्दैथ्यो ।" मैले सोधेँ ।
"अस्ती हामीसँग बाझ्ने फुलकुमारी के । 'मोबाइलको स्क्रिन' फेरेको धेर पैसा लियो भन्दै बाझेकी थिइन् नि ।"
अरुको भाषामा माल, छम्मा भनेझैँ हाम्रो भाषामा च्वाँक केटीहरुलाई 'फुलकुमारी' भनिन्थ्यो ।
"त्यस्ता कति फुलकुमारीहरुसँग बाझेको होला यो झुसे," 'क्यान्डी क्रसमा' व्यस्त झुसे दाजुले मेरो मनकै कुरा भन्दिए ।
हामी हास्यौँ फेरी । हाँस्नलाई ठूलो कारणै कहाँ चाहिन्छ र !
"यो फुलकुमारीले त गञ्जी लगाउँछ होला भन्दैथ्यो अस्ति, सम्झेको होला नि ।" रुपाले भन्दियो ।
वक्षस्थल सानो भएका केटीहरु सम्झन खोजेँ जोसँग म बाझेको थिएँ । कसैको अनुहार आएन दिमागमा । दिनभर र राति पनि म सोचिरहेँ - को रैछ त्यो केटी ? भनेर । मान्छे नचिने पनि मलाई नाम खुब मन पर्यो । नामसँगै मेरो लभ पर्यो । तर मैले यो कुरा कसैलाई पनि भनिनँ - रुपालाई पनि भनिनँ ।
राती सुत्ने बेला भगवानसँग दुई कुराको प्रार्थना गरेँ, भोलि त्यो केटीलाई पिकनिकमा देख्न पाउँ अनि त्यो केटीले पनि मैले जस्तै हामी बाझेको कुरा बिर्सियोस् ।
*** *** ***
पाँच बजे त नेपाली टाइम न थियो, म पौने छ मा चाबेल पुग्दा पनि गाडि हिँड्ने सुरसार थिएन । करिब ७ बजेतिर बल्ल गाडि हिँड्यो । गाडिमा जुन नयाँ केटी देख्दा पनि यो गुञ्जन हो कि भनेर मुटु ढुकढुक गरि रहन्थ्यो । भरै सङ्गित दाइले गुञ्जन अर्कै गाडिमा आउँदैछ भनेर अर्का दाइलाई भनेको सुने पछि मात्र अलि खुलेर बोल्न थालेँ मान्छेहरुसँग । गाडिभन्दा कैयौँ गुणा छिटो धड्किरहेथ्यो धडकन । कति बेला त्यहाँ पुगिन्छ अनि कति बेला ऊ त्यहाँ आइ पुग्छे, उत्सुकता चरमोत्कर्षमा पुगिसकेको थियो ।
एक घन्टा घस्रिएपछि बल्ल बल्ल त्रिभुवन पार्क पुग्यो गाडि । गाडिबाट झर्नासाथ मेरा 'प्यारा दाजु सङ्गिते'ले काम अह्राइ हाल्यो, सामान ओसार्ने अनि भाँडाकुँडा र दाउरा गाडिबाट 'पिकनिक स्पट'सम्म लैजाने । त्यति काम भै सकेपछि हाम्रो तास खेल्ने गुट एक ठाउँमा बसिहाल्यो । म चाहिँ हेर्न बसेँ । आँखा तासमा भए पनि मन र दिमाग चाहिँ नयाँ थपिन आउने केटीहरुमा नै केन्द्रित थियो । धेरै जसोलाई मैले चिन्ने भएकाले ऊ आइपुगेकी छैन भन्ने कुरामा विश्वस्त थिएँ ।
गाउँका सोझी सिधी देखिने दिदीबहिनीहरु पनि सहरिया हावा पानीले छोएपछि 'टाइट् प्यान्ट् र टाइट् सर्ट'मा कम्मरमुनि पछाडि र कम्मरमाथि अगाडितिर बाङ्गिन थालेका थिए । मलाई पचेको थिएन यो लवाइखवाइले सभ्य देखाउँछ भन्ने कुरा । यस्तैमा एउटा मैले नचिनेको केटी देखा परिन् त्यस्तै सहरिया पहिरनका साथ । मुटु जोडले धड्कियो एकछिन् । सहरिया पहिरन उसको शरीरमा सुहाएको थियो । बोल्दा 'कन्फिडेन्ट स्माइल' देखा पर्ने उसको मुहार र व्यक्तित्वलाई 'म्याच' गरेको थियो 'लुज टिसर्ट र टाइट् प्यान्ट्'ले । तर त्यो केटी गुञ्जन हैन भन्ने कुरा छिटै खुलस्त भयो ।
'स्पिकर'बाट ठूलो स्वरमा गित बज्न थाल्यो । सबैजना नाँच्न थालेछन् । कोही चाहीँ "पैले पेट पुजा गरौँ "भन्दै थिए तर नाच्नेकै सङ्ख्या धेर भएपछि सबै नाच्न थाले – शिला शिलाकी जवानी ।-
आफु त चानसमा पनि डानस नगर्ने मान्छे परियो त्यहाँ नाच्ने त कुरै थिएन । दर्शकको लहरमा बसेर आँखा नचाउन थालेँ । एघार बज्न लाग्दा पनि जाडो घटेको थिएन तर केटीहरुको पहिरन हेर्दा उनीहरुलाई जाडो भए जस्तो देखिन्थेन । सायद जाडो यामसँग उनीहरुको गहिरो मित्रता थियो । त्यस्तो कपडामा केटीहरु नाचिरहेको हेर्न मजा त भै रहेको थियो तर उतिकै अप्ठेरो पनि लागिरहेको थियो । नेपाली समाजलाई पचि नसकेको पहिरन र गितमा त्यस्तै खालको नाच पनि चलिरहेको थियो – केटाकेटाबीच, केटीकेटी बीच र केटाकेटीबीच । यस्तैमा मैले उनलाई देखेँ ।
भिडमै नाचिरहे पनि उनी भिड भन्दा छुट्टै देखिन्थिन् । उनको नाचमा अश्लीलता कति पनि थिएन । हामीलाई जस्तै जाडो उनलाई पनि भइ रहेको छ भन्ने उनको पहिरनले बताउँथ्यो । टाउकोमा सल (सायद सल नै भनिन्छ) बेहेरिएको देख्दा मलाई ठ्याक्कै साहित्यकार पारिजातजस्तो लाग्यो । अनुहारमा मेकअपको नाममा हल्का गुलाबी रङको लिपस्टिक मात्र देखेँ । हाइट त मभन्दा अग्ली पो छिन् कि जस्तो लाग्यो - फसाद पर्ने भो । अनुहार हेर्दा त खासै राम्री होइनन् मनमा खोई कस्तो कस्तो भावना आयो (सिनेमाकी हिरोइनजस्तै राम्री होलीन् भन्ने आश गरेको थियो मनले सायद) तर पनि मैले आफैलाई उनीतर्फ आकर्षित भैरहेको पाएँ । सायद उनलाई धेरैबेर घुरेर हेरेँ क्यारे मतिर हेरेर 'स्माइल' पो दिइन् । भित्रैदेखि लाज लागेर आयो । एउटा 'नर्भस स्माइल' फर्काएँ अनि भुइँतिर हेरेर फेरी तास खेलेकै ठाउँतिर जान लागेँ ।
मुटु ढुकढुक गरीरहेको थियो । शरीर एक्कासी तात्तिएर त्यस्तो जाडोको मौसममा पनि गर्मी हुन थाल्यो । पछाडि ‘गुञ्जन ! गुञ्जन !!’को नारा लाग्यो । के भएछ भनेर हेर्न जाँदा उनी एउटा हिन्दी गितमा सिङ्गल नाच्दै रहिछिन् - 'बहारा बहारा हुवा दिल पेहेले बार' । गितले मेरै कथा भनि रहेजस्तो लाग्यो । भिडभन्दा अलि परै बसेर म उनलाई हेरी रहेँ - हेरी रहेँ । सबैले ताली बजाएपछि पो पत्तो पाएँ ,गित त सकिइ सकेको रहेछ । उनी नमस्कार गरेर म भएकै तिर आइन् । ]]
*** *** ***

यति लेखिसकेर डायरी बन्द गरेँ । रातको १ बजिसकेको रहेछ । यति लेख्न पनि मलाई २ हप्ता लाग्यो । 
"प्रतिक्षाको फल मिठो हुन्छ ।"
यो डाइलग बोलेर गए पछि उनको र मेरो भेट भएको थिएन । फोन र फेसबुकमा कुरा भइराखथ्यो तर भेटेरै भन्छु भनेकीले त्यो दिनको बारेमा म अझै अनभिज्ञ, उत्सुक र जिज्ञासु थिएँ । उनले "भोलि आउँछु" भनेकीले मैले रातरातभर बसेर पनि यो कथा पुरा गर्नु पर्ने भो । निद्रा छैन आँखामा, दिमागले सुत् भनिरहेको छ, मन र मुटु चाहिँ 'फिङ्गर्स क्रस्ड' राखेर भोलिको दिनको प्रतिक्षा गरिरहेको छ ।

Comments

Popular posts from this blog

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु

एक चिहान- मुख्य घटनाक्रम ३

परिच्छेद ३ ·     डाक्टर बोलाउन गएको शिव नारान नफर्किए पछि र अष्ट नारानको व्यथा बढ्दै आएकोले हडबडाएकी लतमायाले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहनु , ·   सिकर्मी पुन नारान पेस्की लगेदेखि बेपत्ता भएकोले साहुले उनलाई समात्न घर आउँदा त्यस्तो बेइमानी गर्नु राम्रो होइन भन्नु , ·   आफूले बेइमानी नगरेको तर बाबु बिरामी भएकाले काम गर्न नभ्याएको र ल्याएको पेस्कीले ठूलो काम दिएको हुनाले पुन नारनले ठूलो गुन सम्झेको कुरा विनम्र भएर भन्नु , ·       पुन नारानको अति नम्र कुरा सुनेर प्रतिवाद गर्न नसकेपछि दुवै जना घरबाट निस्कनु , ·       पुन नारान पुग्दा पनि डाक्टर किताब नै हेरि रहेको भेटिनु , ·       पुन नारानबाट बाबुको अवस्था झन बिग्रिएको कुरा सुनेर शिव नारानले डाक्टरलाई फेरी अनुरोध गर्दा डाक्टरले आफूलाई फिस तिर्नु पर्ने कुरा बताउनु , ·        घर पुग्नासाथ फिस तिर्ने कुरा भए पछि डाक्टर बिरामी हेर्न जान राजी हुनु ।